आइटिएफ जे३० टेनिस टुर पोखरा : कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि

0Shares

पोखरा, मंसिर २०

कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै उपाधि जिते । गल्र्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पारिन् ।

डबल्सतर्फ पनि युल र शिवाली दुबै विजेता बने । ब्वाइज डबल्समा कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्यो । गल्र्स डबल्समा शिवाली गुरुङ र के–ची सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि चुमे ।

पहिलो सर्किट अन्तर्गतका विजेताहरूलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिस संघका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङ, सल्लाहकारद्वय गोपी भट्टराई र सूर्य बहादुर भुजेल, प्रथम उपाध्यक्ष नविन चालिसे र द्वितीय उपाध्यक्ष नविन श्रेष्ठ, सचिव भिष्मराज पौडेललगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार पहिलो सर्किट शनिबार सम्पन्न भएसँगै दोस्रो सर्किटको क्वालिफायर राउन्ड शनिबारबाटै सुरु भइसकेको छ भने मुख्य खेलहरू सोमबारबाट सुरु हुनेछन् ।

शिवालीले रचिन् नयाँ इतिहास
नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंकसमेत प्राप्त गरेकी छन् । उनी अर्को महिना अस्ट्रेलियामा आयोजना हुने ग्राण्डस्लाम अस्ट्रेलियन ओपन इलाइट ट्रफी २०२६ मा सहभागी हुने पहिलो नेपाली खेलाडीसमेत बन्नेछिन् ।

मंसिर २७ गतेसम्म दुई साता लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना खेलाडी सहभागी छन् ।नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल र हङकङका खेलाडीहरूको उपस्थिति रहेको छ।

१३ देखि १८ वर्ष उमेर समूहका खेलाडीबीच हुने प्रतियोगितामा सिंगल्स विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वार्टरफाइनलिस्टले ५ र प्रि–क्वार्टरफाइनलिस्टले २ अंक प्राप्त गर्नेछन् । त्यसैगरी डबल्सतर्फ विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६ र क्वार्टरफाइनलिस्टले ३ अंक प्राप्त गर्ने व्यवस्था छ ।

ब्वाइज र गल्र्स सिंगल्स तथा डबल्स गरी चार इभेन्टमा सञ्चालन भइरहेको प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *