आइटिएफ जे ३० टेनिस टुर पोखरा : नेपालका प्रनव र शिवाली सेमिफाइनलमा

0Shares

आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत बिहीबार सम्पन्न ब्वाइज सिंगल्स क्वार्टरफाइनल खेलबाट शीर्ष वरियताका टिङ–हो याङ (ताइपेई), युल हो जुङ (कोरिया), नेपालका प्रनव मानन्धर तथा श्रीलंकाका गानुका फर्नान्डो सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा याङले भारतका फजल अली मिरलाई ७–६(४), ६–४ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरे । यस्तै, तेस्रो वरियताका जुङले भारतका हर्ष मरवाहालाई ५–७, ६–२, ६–४ ले पराजित गरे । पाँचौं वरियताका नेपाली खेलाडी प्रनव मानन्धरले करन बी थापामाथि ६–२, ६–४ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाए । छैटौं वरियताका गानुका फर्नान्डोले भारतका प्रतीक श्योरानलाई ४–६, ६–३, ६–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत गल्र्स सिंगल्स क्वार्टरफाइनल खेलबाट ताइपेईकी के–चिएह ह्सु, भारतकी अनन्या जैन र कार्थिका पद्मकुमार तथा नेपालकी शिवाली गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । ह्सुले भारतकी शताक्षिका सहायलाई ६–३, ६–४ ले पराजित गरिन् । भारतकी अनन्या जैनले क्यानडाकी नोरा चौधरीलाई ६–१, ६–३ ले हराइन् । तेस्रो वरियताकी नेपाली खेलाडी शिवाली गुरुङले भारतकी रञ्झना संग्रामलाई ६–३, ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् । दोस्रो वरियताकी कार्थिका पद्मकुमारले तेजस्वी मन्नेनीमाथि ६–४, ६–३ को जित निकालिन् ।

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत ब्वाइज डबल्स सेमिफाइनलमा चौथो वरियताका भारतका फजल अली मिर र हङकङका सेल्विन ट्स्ज युएन वङले भारतका शौनक चट्टोपाध्याय र सिंगापुरका रोबर्ट डोल्यालाई ६–४, ६–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । अर्को सेमिफाइनलमा कोरियाका ह्यो जिन हा र युल हो जुङको जोडीले चीनका यान्शुओ पान र जुनलिन सुलाई ६–०, ६–३ ले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको छ ।

त्यस्तै, गल्र्स डबल्स सेमिफाइनलमा नेपाली खेलाडी शिवाली गुरुङ र ताइपेईकी के–चिएह ह्सुको जोडीले चौथो वरियताका भारतकी शताक्षिका सहायक र न्युजिल्यान्डकी बोइदेही उकिलको जोडीलाई ६–३, ६–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । अर्को सेमिफाइनलमा भारतका साउम्या चट्टोपाध्याय र रञ्जना संग्रामले तेजस्वी मन्नेनी र जह्नवी तम्मिनेदीको जोडीलाई १–६, ६–४ र टाइब्रेकमा १०–६ ले हराउँदै उपाधि भिडन्त तय गरेका छन् ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *