काठमाडौँमा पोखरेली जुनियर्सहरूको तहल्का : मेडलको वर्षा

0Shares

काठमाडौँको धापाखेलमा सम्पन्न टिम टेनिस नेपाल जुनियर ओपन प्रतियोगितामा पोखरेली युवा टेनिस खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा सहभागी विभिन्न उमेर समूहका खेलाडीहरूमध्ये चारवटा इभेन्टमा स्वर्ण तथा पाँचवटा रजत र एक काश्य पदक प्राप्त गरे ।

पोखराको गण्डकी बोर्डिङ स्कुलका दर्शिल श्रेष्ठले यु–१६ सिंगल तथा ओपन डबलतर्फ स्वर्ण पदक हात पारे । उनले यु–१६ सिङ्गलमा गण्डकी बोर्डिङकै पोखरेली खेलाडी शाश्वत बज्राचार्यलाई ७–६ र ६–० मा पराजित गर्दै स्वर्ण जित्दा शाश्वतले रजत पदक प्राप्त गरे । त्यस्तै दर्शिल र काठमाडौँका बोरिस अधिकारीको जोडीले पोखराकै शाश्वत बज्राचार्य र काठमाडौँका अशव सम्राट हाडा जोडीलाई ७–६ र ६–२ को सेटमा पराजित गर्दै स्वर्ण जिते । शाश्वत जोडीले रजत पदक प्राप्त गरे ।


१४ वर्ष मुनिको सिङ्गलमा प्रफुल्ल श्रेष्ठले पोखराकै डोजन गुरुङलाई ६–२ ६–२ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । गण्डकी बोर्डिङ स्कुलका यी दुई खेलाडीले पोखराका लागि एक स्वर्ण र एक रजत पदक दिलाए । आठ वर्ष मुनिको सिङ्गलमा फिस्टेल एकेडेमीका जिवास विक्रम भट्टराईले पोखराका लागि स्वर्ण पदक दिलाए । फाइनलमा उनले टोनी श्रेष्ठमाथि ५–१०, १०–६ र १०–७ को नतिजा निकालेका थिए ।

१२ वर्ष मुनिको एकलमा स्वर्णकै आशा गरिएका आर्यषराज पौडेलले भने रजत पदकमा चित्त बुझाए । विश्व विशेष डल्लाकोटी विरुद्धको फाइनल खेलको पहिलो सेट ३–६ ले आफ्नो पक्षमा पारेका आर्यषले दोस्रो र तेस्रो सेटको खेलमा लय गुमाउँदा रजतमै चित्त बुझाउनु परेको हो । त्यस्तै गर्ल यु–१४ तर्फ पोखराकी साल्वी शेरचनले रजत पदक प्राप्त गरिन् । फाइनल खेलमा उनी कर्मिशा श्रेष्ठ सँग ६–१, ६–१ ले पराजित हुन पुगेकी थिइन् ।

डबल्सको ओपनतर्फ प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङको जोडीले काश्य पदक प्राप्त गरे । राष्ट्रिय स्तरको जुनियर टेनिस प्रतियोगितामा कास्कीले यति धेरै पदक प्राप्त गरेको यो पहिलो अवसर हो । अब कास्कीको टेनिस माथिल्लो स्तरमा पुगेको यो प्रतियोगिताले प्रमाणित गरेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले बताए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *