गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजना तर्जुमा गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी ५ वर्षका लागि तयार पारेको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । देशको सोह्रौं राष्ट्रिय योजनाको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सहयोग पु¥याउने र कार्वन तटस्थ, समावेशी, दीगो तथा उत्थानशील अर्थतन्त्र निर्माण गरी प्रदेश समुन्नतीको आधारशीला तयार पार्ने उद्देश्यले बनाइएको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’को सोंचसहितको योजना तर्जुमा गर्ने आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताए । उक्त सोंच पूरा गर्न उत्पादकत्व बृद्धि, सामाजिक न्याय र समुन्नती हासिल गर्ने प्रादेशिक लक्ष्य निर्धारण गरिएको उनको भनाई छ ।
गण्डकीले उक्त लक्ष्य पूरा गर्न ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्रहरु पहिचान गरेको छ । ३ उद्देश्यहरुमा गुणस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय बृद्धि गर्नु, मानव पुँजी निर्माण, विकासका लाभको समन्यायीक वितरण र सामाजिक न्याय स्थापित गर्ने तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन अभिबृद्धि गर्नुरहेको उनले प्रष्ट्याए ।
गण्डकीले लिएको समष्टिगत रणनीतिहरुमा उत्पादन तथा उत्पादकत्व र दीगो आर्थिक बृद्धि गर्ने, मानव पुँजी निर्माण तथा न्यायपूर्ण समाजको स्थापना, दीगो तथा उत्थानशील समाजको स्थापना, हरित, कार्वन तथा जलवायुमैत्री कार्य र स्वच्छता अभिबृद्धि गर्नेलगायतका रहेका छन् । यसैगरी प्रथामिकताका क्षेत्रहरुमा सुदृढ प्रादेशिक अर्थतन्त्र, प्रभावकारी आर्थिक नीति तथा आत्मनिर्भरता, व्यवासायीक कृषि तथा आत्मनिर्भरता, दीगो वन व्यवस्थापन, जैविक विविधता तथा जलाधार संरक्षण, बजारमुखी उत्पादन र दीगो पर्यटनलगायत रहेको उपाध्यक्ष डा.देवकोटाले जानकारी दिए ।
दोश्रो पञ्चवर्षीय योजनाले २०८५ सालसम्ममा ८ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउने लक्ष्य लिएको छ । जबकी हाल गण्डकीको आर्थिक वृद्धिदर ३.३ प्रतिशत मात्र छ । प्रथम पञ्च वर्षिय योजना शुरु हुँदा २०७५÷७६ मा ७.१ प्रतिशत रहेकोमा कोभिड, आर्थिक मन्दीलगायतका कारण अहिले गण्डकीको आर्थिक बृद्धिदर बढ्नुको सट्टा झन् घट्दो अवस्थामा रहेको बेला दोश्रो पञ्चवर्षीय योजनाले महत्वकांक्षी ८ प्रतिशत आर्थिक बृद्धिदर पु¥याउने लक्ष्य लिएको हो ।
त्यस्तै, दोश्रो पञ्चवर्षी योजनाले गरिवी ८ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । जबकी गण्डकी प्रदेशमा हाल गरिवी ११ प्रतिशत छ । प्रथम पञ्च वर्षीय योजनाले ७.३ प्रतिशतमा झार्ने लक्ष्य राखेपनि विविध कारणले त्यो महत्वकांक्षी योजना पूरा हुन सकेन । त्यसैले आयोगले दोश्रो पञ्चवर्षीय योजनाले गरिवी ८ प्रतिशतमा झार्ने महत्वकांक्षी लक्ष्य राखेको छ ।
गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजना सकिदासम्म गण्डकी प्रदेशको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । जुन महत्वकांक्षी योजना हो । यसअघि प्रथम पञ्चवर्षी योजनाले १ हजार ९ सय ५६ अमेरिकी डलर पु¥याउने लक्ष्य राखेपनि त्यो अहिले १ हजार ५ सय ९६ अमेरिकी डलरमा सिमित छ । गण्डकीले श्रमशक्ति सहभागिता दर ७५ प्रतिशत पु¥याउने, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५५ प्रतिशत पु¥याउने, विद्याुतमा पहुँच प्राप्त परिवार शत प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । गण्डकीमा साक्षरता दर ५ वर्षमाथि ८५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । गण्डकीवासीको औषत आयु ८० वर्ष पु¥याउने लक्ष्य लिइएको छ भने मातृ मृत्यूदर शून्यमा झार्ने, बाल मृत्यूदर प्रति हजारमा १४ जनामा झार्ने लक्ष्य लिएको छ ।
आयोगका उपाध्यक्ष डा.देवकोटाले आर्थिक बृद्धिदर न्यून हुनु, उत्पादन क्षेत्रको तुलनामा सेवा क्षेत्रको बिस्तार उच्च हुनु, न्यून उत्पादन तथा परनिर्भरता बढ्दै जानु, वित्तीय श्रोत परिचालन सबल नहुनु, पुँजीगत खर्चमा कमी हुनुलगायतका कारण प्रथम पञ्चवर्षीय योजनाले अपेक्षित लक्ष्य हाँसिल नगरेको बताए । तर कोभिडको असर कमहुँदै गएको, आर्थिक चलायमान बढ्दै गएको तथा पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा कृषिलाई औद्योगिकरण र व्यवसायीकरण गर्ने, पर्यटनको राजधानी घोषणा भइसकेकाले सोहि अनुसारको लगानी बृद्धि र पर्यटन आगमनमा बृद्धि गर्दै दोश्रो पञ्चवर्षीय योजनाको लक्ष्य पूरा गर्न सकिने उनको भनाई छ । ‘हामीले योजना तर्जुमा गरेका छौं । अब बजेट र कार्यक्रम त्यहि अनुसार छुट्टिन्छ । यसले हाम्रो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने विश्वास छ’–उनले भने ।