गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार इजरायली हवाइ आक्रमणमा १६ जनाको मृत्यु भएको छ । जसमा कम्तीमा तीन जना बालबालिका छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजापट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई वर्षका दुई बालक अल–मावासी क्षेत्रमा रहेको एक अपार्टमेन्टमा रहेका थिए ।
पछिल्लो विवरणअनुसार सोही अल–मावासी क्षेत्रमा एउटा पालमाथि गरिएको आक्रमणमा थप १० जनाको मृत्यु भएको छ, जसमा एक बालक र सात महिला परेका छन् । इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी दिएको छैन । एएफपीले सम्पर्क गर्दा प्रवक्ताले विवरण संकलन भइरहेको जानकारी दिएका थिए ।