आन्तरिक राजस्व कार्यालय पोखराले लेकसाइडको टेम्पल ट्रि रिसोर्टलाई उत्कृष्ट करदाता सम्मानले सम्मानित गरेको छ । कार्यालयले रिसोर्टका निर्देशक बसन्त गौतमलाई एक समारोहका विच उक्त सम्मानद्वारा सम्मानित गर्यो । टेम्पल ट्रि रिसोर्ट प्रालिले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस कार्यक्रमको आयोजना गर्दै रिसोर्टलाई सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै प्रालिका निर्देशक गौतमले राजस्व कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अहिले नेपाली युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा रिसोर्टले सय भन्दा बढि युवाहरुलाई रोजगार प्रदान गर्दैै देशमा बस्ने वातावरण प्रदान गरेको उल्लेख गर्नुभयो । कोरोना संक्रमणपछि पर्यटन क्षेत्रको अवस्था विग्रदै गएकोमा यसलाई उकास्न सम्बन्धित निकायले गंभिर चासो देखाउनुपर्नेमा गौतमले जोड दिनुभयो । सो अवसरमा टेम्पल ट्रि रिसोर्ट प्रालिका निर्देशकहरु प्रेम श्रेष्ठ, विमल नहर्की र चन्दन कायस्थको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पोखरा पर्यटकीय क्षेत्र भएकोले यसको विकासमा निजिक्षेत्रसँग सहकार्य गर्ने समेत बताउनुभयो ।