विजया दशमीको शुभकामना साटासाट गर्दै कास्कीका भेट्रान क्रिकेटरहरुले मैत्रीपूर्ण क्रिकेट खेलेका छन् । शनिबार पोखरा रंगशालामा भएको उक्त टी–२० क्रिकेटमा माछापुच्छ्रे भेट्रान्स ९ रनले विजयी भयो । कप्तान विनोद लामिछानेले टस जितेपछि व्याटिङको निर्णय गरे । कप्तानको निर्णयलाई सहि सावित गराउँदै माछापुच्छ्रेका व्याट्स्म्यानहरुले पुरा १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४६ रन बनाए । माछापुच्छ्रेको तर्फबाट मनोर कोइरालाले अर्धशतकिय पारी खेले । प्याविलियन फर्कनु अघि उनले ५० रन जोडे । ऋषिकेश सर्माले १८ तथा राजु श्रेष्ठले १४ रन बनाए ।
अन्नपूर्णका बलिङमा उत्सव शाक्य र मुकेश गुप्ता दुवैले २ ओभरम १३ रन खर्चिएर २ विकेट लिए । रवि थापाले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए । सञ्जयकान्त सिग्देल, इश्वर सेवा र निकेश श्रेष्ठले पनि समान १ विकेट लिए ।
जितका लागि १ सय ४७ रनको लक्ष्य पाएको अन्नपूर्णले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । अन्नपूर्णको तर्फबाट गोविन्द प्रधानले ६९ तथा सन्तोष भण्डारीले १८ रन जोडे । माछापुच्छ्रेका बलरहरु ऋषिकेश सर्मा र भोजराज बरालले समान २ विकेट लिएका थिए । आपसी भाइचार बृद्धि तथा क्रिकेट विकासका लागि गोविन्द प्रधानले उक्त खेलको संयोजन गरेका थिए ।