पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ है पोखरा अभियान’ लिएर पश्चिम नेपालतर्फ लागेको होटल संघ पोखरा नेपालले पश्चिमका विभिन्न शहरहरुमा पत्रकार सम्मेलन गर्दै त्यहाँका सरोकारवालाहरुसंग अन्र्तक्रियात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही क्रममा टोलीले बाँकेको नेपालगन्जमा पनि छलफल तथा अन्तरक्रिया कार्यक्रममा गर्यो । कार्यक्रममा पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए । पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो ।

होटल संघ पोखरा नेपालका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुबेदीले पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र पश्चिम नेपालका विभिन्न शहरविच स्तरीय बस सेवा जरुरी भएको भनाई राखे । होटल संघ नेपालका केन्द्रीय सदस्य एबं आयोजक संघका सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले अभियानको निरन्तरता नै सफलताको सूचक भएको भनाई राखे । पूर्वाधारको विकास र पर्यटन मैत्री वातावरणमा सरकारले ध्यान दिनुपर्ने पराजुलीले बताए ।
लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले पर्यटन प्रबद्र्धनका सन्दर्भमा पोखरालाई आफ्नो साथ रहने भनाई राखिन् । नेपालमा पाँच सय दरका भरतीय रुपैयाँका नोट चलाउन दिनुपर्ने, चेकिङका नाममा भरतबाट आउने पर्यटकलाई नाका र अन्य ठाउँमा सुरक्षाकर्मीले दुःख दिन नहुने र दुई शहरविच पर्यटनका संयुक्त प्रबद्र्धनात्मक कार्यक्रम संचालन गरिनुपर्ने गुनासा र सुझाव नेपालगन्जका ब्यबसायीले राखेका थिए ।
होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल ब्यबसायी महासंघ लुम्बिनीका संस्थापक भास्कर काफ्ले, नेपाल उद्धोग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष चिरन्जिवी वली, बन्दिपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे र नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियात अहमद शाह लगायतले कार्यक्रममा भनाई राखेका थिए । पोखराबाट जेठ २९ गते पश्चिम नेपालका लागि हिंडेको संघको टोली असार दुई गते पोखरा फर्कने छ । यस अघि पाल्पा र बुटवलमा औपचारिक कार्यक्रम गरेको टोलीले सुर्खेत र दाङमा पनि कार्यक्रम संचालन गर्ने छ ।