नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गर्नुभएको थियो । यो सम्झौता भएपछि अब नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।