रेवान पोखराले टेनिस खेलको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्पूर्ण टेवा पुर्याएको भन्दै विनोद कायस्थलाई सम्मान गरेको छ । २६ औं पोखरा सडक महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उहाँलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभयो ।
सम्मानित व्यक्तित्व विनोद कायस्थ कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष हुनुहुन्छ । उहाँकै नेतृत्वमा अन्य सहकर्मी साथीहरु तथा व्यवसायीक प्रतिष्ठानले हातेमालो गरेपछि अहिले पोखरा रंगशालाभित्र विभिन्न भौतिक विकास सहित ६ वटा टेनिस कोर्ट निर्माण भइसकेका छन् । दिनहुँ जसो सयको हाराहारीमा खेलाडीहरु त्यहाँ टेनिस खेलिरहेको हामी देख्न सक्छौं ।
नेपाल टेनिस संघको उपाध्यक्ष समेत रहनुभएका कायस्थले ३० वर्ष अघि पिएन क्याम्पसबाट टेनिस खेलमा लाग्नुभयो । टेनिस भोक मेटाउन तथा यसको विकास र प्रवद्र्धनका लागि २५ वर्ष अघि पोखरा–५ पस्र्याङमा आफ्नैं निजी खर्चमा टेनिस कोर्टको निर्माण गर्नुभयो । त्यहि कोर्टमा टेनिस खेलाडीको जमघट बढ्दै गएपछि एउटा सपना बोकेर उहाँले पस्र्याङ भेट्रान्स टेनिस प्रतियोगिता शुरु गर्नुभयो । अहिले आइटीएफको अन्र्तराष्ट्रिय टेनिस खेल्न सयौं विदेशी खेलाडीहरु पोखरा आउने गरेका छन् । यसले यहाँको खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण टेवा पुर्याइरहेको छ ।