पोखरामा सहकारी पीडितहरूले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।
लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठक स्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै नाराबाजी सुरु गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो ।
सहकारी पीडितहरूले ’सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण ?’ सहकारी ठग मुर्दावाद, जीवी राई कहाँ छ ? रविलाई थाहा छ, ए सरकार तेरो यो पाराले, जीवी नआए सबै कुराको जिम्मा लेउ रवि लगायतको नारा लगाउँदै प्रदर्शन गरेका थिए ।