नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्टस् अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ ।
मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्टस् अवार्ड–२०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्टस् अवार्डको आयव्यय सार्वजनिक गरेको हो ।
उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरुबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक लाख ८६ हजार २७७ रुपैयाँ बचत गर्न सफल भएको मञ्चका कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति कविता घर्तिमगरले जानकारी दिइन् । यस्तै विभिन्न व्यक्ति तथा व्यापारिक प्रतिष्ठानहरुबाट तीन लाख ६२ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो ।
कार्यक्रममा मञ्चले पोखराको ब्राण्ड बनिसकेको अवार्ड भब्य बनाउन कुनै कसर बाँकी नराखेको मञ्चका अध्यक्ष एव स्पोर्टस् अवार्ड आयोजक मूल समिति संयोजक दीननाथ बरालले दाबी गरे । उनले भने, ‘पोखराको ब्राण्डको रुपमा स्थापित भइसकेको अवार्ड कार्यक्रमलाई सरकारी तथा विभिन्न संघसंस्था र सुभेच्छुकहरुबाट जुन किसिमको साथ पायौं, यो हाम्रो लागि गौरवको कुरा हो । उहाँहरुसँग आगामी दिनमापनि हातेमालो गर्दै अगाडी बढ्ने छौं ।’ अवार्ड कार्यक्रमको गरिमालाई हेरेर अझैपनि सहयोगीहरुले सघाउने प्रतिवद्धता जनाइरहेको बरालको भनाई थियो । उनका अनुसार अझै दुई लाख बढी रकम मञ्चलाई छिट्टैनै प्राप्त हुने क्रममा रहेको छ ।
उनका अनुसार मञ्चलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् गण्डकी , टाइगर ग्रुप अफ पोखरा, केसी ग्रुप प्रा.लि. स्व. सेनानी हेमबहादुर गुरुङको परिवार, सिटीजन फर्निचर न्यूरोड, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट एण्ड बार, सहारा क्लव पोखरा, सहारा यू.के., बगर भाइखलक यू.के., तमुधिं यू.के. लगायतबाट मुख्य सहयोग रहेको थियो । सो अवसरमा अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा सहभागीले जोड दिए । निवर्तमान महासचिव बिजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, धनबहादुर गुरुङ, विजय नेपाली, रुपनारायण ढकाल लगायतले पोखरा स्पोट्र्स अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिए ।
मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञावली, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी नेपालका गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेल, नेपाल प्रेस यूनिय गण्डकी प्रदेश उपाध्यक्ष माधवप्रसाद रेग्मी, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मञ्चको स्थापना दिवस र आठौँ पोखरा स्पोर्ट्स अवार्डका सम्बन्धमा भनाई राखेका थिए ।
गत वैशाख २८ गते पोखरा सभागृहमा “स्वस्थता र समृद्धिका लागि खेलकुद” नाराका साथ ‘आठौँ पोखरा स्पोर्टस् अवार्ड–२०८०’ मा वर्ष उत्कृष्ट खेलाडी अवार्ड पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आईटिएफ टेक्वान्दो खेलाडी शुस्मिता थापामगरले जित्न सफल भएका थिए । यस्तै, वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टकी दिलाशा राना , उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसी, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट रोहितराज पराजुली र खेलकुद सङ्घसंस्था वा क्लबतर्फको अवार्ड सहारा क्लव पोखरालाई प्रदान गरिएको थियो । यसवर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट एथलेटिक्स प्रशिक्षक ईन्द्रा मल्ल सम्मानित भएकी थिइन् ।
यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरिएकोे थियो । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । २०५७ सालमा खेलकुदपत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै २०७५ सालमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
नेपालद्धारा पत्रकार अक्षयकोषमा सहयोग रकम हस्तान्तरण
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान महासचिव बिजय नेपालले मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । उक्त अवसरमा नेपालले मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, कोषाध्यक्ष कविता घर्ती मगरलाई ११ हजार बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
पत्रकारको हकहिनको लागि स्थापना गर्न लागिएको उक्त अभियानमा सानो सहयोगथ गरेको नेपालले जनाउनु भयो । उक्त कोषमा हालसम्म अध्यक्ष बरालले १० हजार, पूर्व सल्लाहकार शुर्दशन रन्जितले २५ हजार, सहयोग गर्नु भएको सचिव शसि कुमार पौडेलले जनाउनु भयो । यस अघि अध्यक्ष बराल नेतृत्व टिमले १० लाख अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो । संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अक्षयकोषको छुट्टै बैंक खाता स्थापना गर्न सुझाव दिदै उक्त अभियान सफल पार्न आवश्यक सहयोग गर्ने वचन दिनु भयो ।