कास्की प्रहरीले पोखराबाट तीन जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । पोखरा १३ मियापाटन बस्ने वर्ष ३७ का बैतुल करिम मिया, वडा नं. ३१ बस्ने वर्ष २६ को अस्मित ढुंगाना र जिल्ला बाँके स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ मियापाटन बस्ने वर्ष ३६ को अब्दुल कमालको साथबाट लागू औषध ब्राउन सुगर ५ ग्राम ९०० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाईल ४ थान, पावर बैंक १ थान र नगद रु.२६ हजार सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
लागू औषध ब्राउन सुगरको खरिद बिक्री भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पोखरा १४ बिपिमार्गबाट पक्राउ गरेको हो । उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।