मुख्यमन्त्री अधिकारीद्वारा भुतेखोला मोटरेवल पुल उद्घाटन

0Shares

पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारद्धारा सम्पन्न भएका सडक तथा पुलको उद्घाटन गरिएको छ । शनिबार पोखरा महानगरपालिका वडा नम्बर १६ र पूर्वाधार विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भूतेखोला मोटरवेल पुल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे र्‍याले सडकको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ समेत सहभागी हुनुभएको थियो ।पूर्वाधार विकास कार्यालय कास्कीका सिडिइ शोभियत खड्काले तीनवटै योजनाको वस्तुस्थिति, खर्चको अवस्था लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । खड्काका अनुसार तीनवटै योजना आर्थिक वर्ष ०७९–०८० मा सुरु भएर आर्थिक वर्ष ०८०–०८१ मा सम्पन्न भएका योजना हुन् ।

भित्तेबजार सडक स्तरोन्नती काम अमित विल्डर्स खासाङ गाउँपालिका मुस्ताङको निर्माण व्यवसायीले सम्पन्न गरेका हुन् । यो योजनाको ठेक्का सम्झौता रकम ३ करोड ८१ लाख रुपैयाँ भएपनि ३ करोड ७१ लाखमा करिब ७ सय मिटरसडक स्तरोन्नती सम्पन्न भएको हो । बाटोको कुल चौडाई ८ मिटर रहेको छ । भूतेखोला मोटरवेल पूल निर्धारित समय भन्दा चार महिना अगाडि सम्पन्न भएको बताइएको छ । भदौरे निर्माण सेवा पोखराका निर्माण व्यवसायीले यो योजनाको ठेक्का प्राप्त गरेका थिए । ३ करोड २८ लाखमा सम्पन्न भएको पूल १४ मिटरको लम्बाइको रहेको छ ।

घुरकुना दाद्रे ¥याले सडक ३ करोड ५८ सम्झौता भएपनि ३ करोड ७६ लाख लागत लागेको थियो । यो योजनामा लागत बढ्नुको कारण बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु परेकोले भएको प्रष्ट पारिएको छ । कुल ३ किमी सडक मध्ये ८ सय ४० मिटरमा कालोपत्रे तथा बाँकीमा ग्राबेल र नाला निर्माण गरिएको हो । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दुधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा शहर झर्ने क्रम बढेको भन्दै यो क्रम रोकिनुपर्ने औल्याउनुभयो । विकास गाउँमा पुगेपछि त्यसको फाइदा लिदै अर्गानिक खेती, होमस्टे लगायतका कार्य मार्फत पर्यटन मैत्री वातावरण निर्माण गरेर गाउँमा घुम्नको लागि पाहुना पुग्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

जनसंख्या वृद्धि भएपनि खोलाघरलाई कायमै राख्न उहाँको सुझाब छ । निकास मिचेर नभई निकास दिएर मात्र विकास गर्नुपर्ने उहाँले खुलाउनुभयो । दबाब आयो भन्दैमा जोखिम बढी भएको ठाउँमा घरहरु निर्माण गर्ने अनुमति नदिन प्राविधिकहरुलाई समेत निर्देशन दिनुभयो । ‘प्रकृतिको आफ्नै नियम छ, जहाँ पनि घर बनाएको कारण समस्या आउने गरेको छ, जति जनसंख्या बढेपनि खोलाघरलाई कायमै राख्नुपर्छ, निकास मिच्ने होइन व्यवस्थित गर्ने हो’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले पोखरा १६ को विकासको लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगकको लागि सदैव तयार रहेको बताउनुभयो ।

पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, पोखरा १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य र स्थानीय लिलाधर आचार्यले पोखरा १६ मा भएका विकास निर्माणका कार्य र भोग्नुपरेका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहजीकरण श्यामलाल लामिछानेले गर्नुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *