गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए ।
“आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उनले भने । मन्त्री थापाले काम गरेर कोहि पनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिएका छन् । सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन मन्त्री थापाको अनुरोध छ । “सीप सिकेर युवाहरु विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनु भएन । सरकारले विदेश पठाउनका लागि सीप सिकाएको होइन । स्वदेशमा नै उद्यमशिल र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्यो।”, उनले भने ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले समाजमा भएको निराशाजनक विषयको अन्त्य सीप सिकेर नै हुने उल्लेख गरे । तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उनको अनुरोध छ । मन्त्रालयले आवश्यकताअनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी उनले गराएका छन् ।