हेमजा आलु महोत्सव जारी

0Shares

१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले विभिन्न प्रस्तुति राख्नुभयो । उहाँहरुका प्रस्ततिमा दर्शक मन्त्रमुग्ध हुनुभयो र छम्छमी नाच्नुभयो। विशेष गरी राजु परियार तथा शिला आलेको दोहोरीमा दर्शकले कम्मर मर्काइमर्काइ धित फुकाएर नाच्नुभयो ।

दोहोरीका अलवा राजुले प¥यो मलाई रुन मायालु, सुन पानीले छर्क मायालु, फूलमा भमरा, डाली पलायो, आधी खोला उर्लेर आयो, शिलाले गोर्खा कालिका, तिम्रो माया जीन्दगी भरीलाई लगायतका गीतहरु पनि सुनाउनुभयो। त्यस्तै आलु र कृषिका भाखाहरु समेत उहाँहरुले गुनगुनाउनुभयो। गीतसँगै महोत्सव संगीतमय बनेको महशुस दर्शकले गरे र हुटिङ पनि राम्रै लगाए । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव भइरहेको छ ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।

वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आउनुभएको छ। त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ ।आइतबारदेखि सुरु महोत्सव यहि वैशाख ३ गतेसम्म संचालन हुनेछ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *