रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा २७ औं पोखरा सडक महोत्सवको तयारीमा जुटेको छ । महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराले महोत्सवसंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका प्रतिनिधीहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमका सहभागिहरुले पोखरा सडक महोत्सव रेवानले आयोजना गर्ने भएपनि यसको सफलता समग्र पोखरासंग जोडिएकाले यसलाई सफल पार्न आ–आफ्नों ठाउँबाट सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले यसपटकको पोखरा सडक महोत्सव विगतको भन्दा पृथक एवं व्यवस्थित बनाउन रेवान पोखरा तयारीमा लागेको बताए । महोत्सवमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संघसंस्था जोडिएको जानकारी दिंदै यसले आफुहरुमा थप उर्जा मिलेको पौडेलको भनाई थियो ।
महोत्सव संयोजक बसन्त गौतमले महोत्सवका आकर्षणबारे जानकारी दिंदै यसपटकको महोत्सव विगतको भन्दा थप परिस्कृत गरिनेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले रेवानले वर्षेनी आयोजना गर्ने सडक महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याएको औल्याए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सडक महोत्सव समग्रमा यो क्षेत्रको आर्थिक विकासमा सहयोगी भएको बताए । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यो महोत्सवले कला, सँस्कृती, खानाको प्रवद्र्धन गर्दै पोखरालाई अन्र्तराष्ट्रिय बजारसम्म चिनाएको बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवराज भट्टराईले महोत्सवमा सुरक्षाको प्रत्याभुती दिलाउन आफुहरु प्रतिवद्ध रहेको जनाए । महिला सञ्जाल बैदामका अध्यक्ष बविता मल्लले लेकसाइडमा आयोजना हुने यो महोत्सव समग्र बैदामवासीकै भएको बताउँदै यसलाई सफल पार्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिइन । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्दै ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको यो महोत्सव सफल पार्न सबै पक्षलाई आग्रह गरेका थिए ।
