आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज शुक्रबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।
भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् । उनको निधन १९२५ असोज ६ गते भएको थियो । भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
