भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ । भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
राहत सामग्रीमा अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन रहेको जनाइएको छ । गत आइतवार भारतले ११ टन राहत सामग्री हस्तान्तरण गरेको थियो । यस्तै चीनले उपलब्ध गराएको राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको छ । रसुवागढी नाका हुँदै चीनले दिएको राहत सामग्री हिजो नेपाल भित्रिएको हो ।
