६ किलो सुन, ६ किलो चाँदी, नगद ६३ लाख नगद सहित पोखराको मोहरियाटोलबाट एक व्यक्ति पक्राउ

0Shares

पोखरामा ६ किलो सुन, ६ किलो चाँदी र करिब ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई सुन र नगद रुपैयाँ सहित पक्राउ गरेको हो । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।

भारतको पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको टोलीले सोमबार ७ बजे सुरजितको कोठामा छापा मारेको थियो । मंगलबार बिहान साढे ४ बजेसम्म प्रहरीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उनको कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको थापाले बताए । उनीबाट सुनका गहना, काँचो सुन, सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन, ६ किलो चाँदी बरामद भएको छ । त्यसै गरी ६२ लाख ८१ हजार रूपैयाँ नगद प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ ।
एउटा मोबाइल, आधारकार्ड, १३ वटा चेक, दुई वटा डायरी र ७ वटा रजिस्टरहरू बरामद भएको उनले बताए । सुरजित माथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा पठाउने तयारी भएको एसपी थापाले बताए ।

वरामद सुन, चाँदी तथा नगदको विवरण

विभिन्न किसिमका सुनका गरगहनाहरू–५ केजी २०० ग्राम
काँचो सुन– ९९९.९० ग्रामको एक ढिका (विस्कुट)– १ थान, ५० ग्रामको १ ढिक्का (विस्कुट)– १ थान
चाँदी – ६ केजी
नगद – रु.६२,८१,०००।– (बैसठ्ठी लाख एकासी हजार)

मोवाइल – १ थान

आधार कार्ड – १ थान
विभिन्न बैंकका चेकहरू – १३ थान
डायरी – २ थान
रजिष्ट्ररहरू – ७ थान

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *