बागलुङमा प्रहरीको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । साउन ८ गते बागलुङको बडिगाड गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्जल पौडेलको हत्या भएको थियो ।

फाइल फोटो
जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा गएका र होटलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोराले हत्या गरेको प्रहरीको आरोप छ ।
कुँवरको होटलमा खाजा खान पुगेका वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेल गत साउन ८ गते राति होटलमै मृत फेला परेका थिए । होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।