तराई मधेशमा छठको रौनक

0Shares

मिथिलाञ्चल लगायत तराई मधेसमा आजदेखि छठ पर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुनेगर्छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन नहाय खायको विधि गरिन्छ । व्रत बस्नले आज नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । यस्तै छठपर्वको दोस्रो दिन भोलि शनिबार चामल, सक्खर र दूध मिसाएर बनाएको खीर (खरना) प्रसादको रुपमा खाने गर्दछन् । आइतबार तेस्रो दिन छठ पर्वको मुख्य दिन हो ।

यस दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ भने चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुनेछ । छठ पर्वमा बाँसको ढाकी, माटोले बनेका सामग्री लगायत चढाइन्छ भने प्रसादमा प्रमुख ठेकुवा, केराका साथै भुसुवा, खाजा, मिठाई, अदुवा, उखु, हल्दी तथा फलफूल आदि सूर्यलाई चढाइन्छ । छठ पर्वका लागि जनकपुरधामका पोखरीहरु सजाइएको छ । आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनार लगायत जलाशयका किनारलाई विशेष रुपले सिंगारिएको छ ।

जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुले छठ पूजा गर्ने अनुमान गरिएको छ । पछिल्लो समय काठमाण्डौलगायत पहाडी क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *