फेवाताल पर्यटकिय राजधानी पोखराको प्रमुख गहना हो । तर वर्षेनी जलकुम्झी झारले फेवालाई कुरुप देखाउँदै आएको छ । यस्तोमा पोखरा महानगरपालिकाले जलकुम्भी झार नियन्त्रण गर्न काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ । आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको हो ।

स्वयंसेवी रूपमा सफाई अभियान सञ्चालन गर्दै आइरहेको महानगरपालिकाले सोमबारदेखि भने स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा खटाएर काम शुरु गरेको छ । ‘फेवातालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जना जलारी समुदायका युवा तथा महिलाहरूलाई काममा खटाइनेछ, नगर प्रमुख धनराज आचार्यले भन्नुभयो, यसपछि यो तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’ माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारका कारण फेवाताल बर्सातको समयमा कुरूप देखिने भएकाले यस पटक समयमा नै यसको स्रोत मै व्यवस्थापन थालिएको उहाँले बताउनुभयो ।
आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीय समेत गरेर हजार बढीले सफाइ अभियानमा सहभागिता जनाएका छन् । पहिलो दिन १५ टिप्पर जलकुम्भी निकालिएको छ । सशस्त्र प्रहरी गण मालेपाटन कालिका गणका प्रमुख, प्रहरी उपरीक्षक अरुण शर्माले ताल तलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्ने सबैको साझा दायित्व रहेको बताउनुभयो । सशस्त्र प्रहरीको अभियानमा सधैँ साथ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालको संरक्षणका लागि हातेमालो गर्न पर्यटन सम्बद्ध संघसंस्थाहरुलाई आह्वान गर्नुभयो । फेवातालको प्रत्यक्ष फाइदा लेकसाइड र आसपासको क्षेत्रलाई भएको उल्लेख गर्दै उहाँले यसको संरक्षणमा पनि उत्ति कै इमानदार बन्न आह्वान गर्नुभयो । उहाँले सबै सरोकारवालाहरूको हातेमालोले मात्र संरक्षण र विकास अभियानका उद्देश्यहरू पूरा हुने धारणा राख्नुभयो ।
पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्ने छन् । फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियान्ताहरुले बताएका छन् ।
