सशस्त्र प्रहरी बलको ‘सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम’का प्रशिक्षार्थी अधिकृतहरूले कुष्मामा रहेको ‘द क्लिफ’मा बञ्जी गरेका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेज अन्तर्गत मंगलबार बञ्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।
विगतमा पनि अधिकृत स्तरका प्रशिक्षार्थीहरूलाई साहसिक प्याकेज दिने गरिएकोमा यसपटक बञ्जी थपेर झनै साहसिक अनुभव दिलाइएको उनले बताए ।क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।
पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । यसअघि नेपाल प्रहरीका विभिन्न तालिम अन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।
