पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

0Shares

पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवर्द्धन गर्ने उद्धेश्य कार्यक्रमले लिएको छ । महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा आयोजकको छ ।

महोत्सवमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त योग विज्ञहरुको जमघट हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछ । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ताहरु गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग र ध्यानको कार्यशालाहरु रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् । 

कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको तीन हजार रुपैया र विदेशीलाई छ हजार पांच सय रुपैया शुल्क तोकिएको छ । महोत्सब अवधिभर ४ दिन सहभागी हुनेहरुका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ। यस महोत्सवको ट्राभल पार्टनर यती एयरलाइन्स रहेको छ। पत्रकार सम्मेलनमा बोल्दै होटल संघ नेपालका महासचिव एबं कार्यक्रमका सभापति साजन शाक्यले नेपालमा योगाकै लागि भनेर ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेको स्मरण गराए । नेपाल चिनाउन र योगाप्रेमीलाई नेपालमा आकर्षित गर्न कार्यक्रम सहयोगी हुने उनले विश्वास ब्यक्त गरे ।

पूर्ण योगाकी संस्थापक लता तुलाचनले सामाजमा सकारात्मक भावको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । मानिसको शारीरिक र मानशिक स्वास्थको लागि योगको भूमिका हुने बताउँदै उनले स्वास्थमा गरिने लगानी सबै भन्दा ठूलो लगानी हो भनिन् । हरियो र सफा नेपाल नारामा समेत कार्यक्रमले जोड दिएको बताउँदै उनले कूल १६ जना प्रशिक्षक कार्यक्रममा भाग लिन आइपुग्ने जानकारी दिईन् ।

संस्थाका अर्का संस्थापक मनोहर श्रेष्ठले नेपालमा योगा सम्बन्धि नीति र कानूनको आबश्यकता औंल्याए । पोखरा र समग्र नेपाललाई योगाको गन्तव्य बनाउने उद्धेश्य कार्यक्रमले लिएको उनले बताए । नेपालमा योगाको विकासको लागि सरकार सहयोगी बन्नुपर्ने भनाई उनले राखे । कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदश्य भरतराज पराजुली, संघका गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पनि आफ्नो भनाई राखेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *