गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले तेक्वान्दो संघले आफ्नो साधारण सभा सम्पन्न गरेकोमा धन्यबाद दिंदै आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी गर्न समेत आग्रह गरे । गण्डकी प्रदेशबाट तेक्वान्दो खेलले उत्कृष्ट मेडल प्राप्त गर्ने विश्वास व्यक्त गर्दै खेलाडीहरुलाई सोही अनुरुप तयार पार्न पनि उनले संघलाई आग्रह गरे । प्रदेश खेलकुद विकासका लागि परिषद सबै खेल संघहरु संग हातेमालो गर्दै सहकार्य गरी अघि बढ्ने बताउँदै खेल संघहरुलाई बलियो बनाउन आवश्यक संघका पदाधिकारीहरुलाई प्रशिक्षण दिने समेत सदस्य सचिव शर्माले जनाए ।
खेलकुदमा न्यून बजेटको कारणले नै सोचे अनुरुप विकास हुन नसकेकेको बताउँदै सदस्य सचिब शर्माले अहिले केही खेलकुद कार्यक्रमका बजेट ढोका बाट नआई झ्यालबाट आउन थालेको समेत बताए । सदस्य सचिब शर्माले परिषदले निर्देशन अनुसार समयमा साधारण सभा तथा अधिवेशन, दर्ता, नविकरण र अद्यावधिक नर्गने सबै खेल संघहरुलाई खारेज गर्ने बताउँदै ति खेल संघहरुको लेटर प्याड, छाप समेत प्रयोग गर्न नदिने गरी कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए ।
खेलकुदमा विशेष गरी मार्शल आर्ट खेलका केही संघहरुमा आर्थिक परादर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रुपमा प्रशिक्षार्थी खेलाडीहरु संग रकम उठाएको विषयमा परिषदको गम्भिर ध्यनाकर्षण भएको जनाउँदै सदस्य सचिब शर्माले नितिगत सुधारका लागि खेल संघहरुले मापदण्ड अनुसार अघि बढ्न जोड दिए ।
सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले खेलाडीहरुको खेल्ने वातावरण र सहजिकररणका लागि खेल संघका पदाधिकारीहरुको ध्यान संगै एक जुट हुनुपर्ने औंल्याउँदै तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्ने कुरामा समेत जोड दिए ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डेले आफ्ना भनाई राखेकी थिइन भने महासचिब रमेश पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष माइकल कर्माचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०/०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९२८ र खर्चतर्फ २५ लाख २३ हजार ८६४ रहेको जानकारी दिए । संघका अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा राख्दै प्रदेशको तोक्वान्दो खेलको विकासका लागि सबैको सहकार्य हुनुपर्ने जनाए ।
