हेटौँडामा पार्किङ गरिएको गाडी जमिनमा भासिएर बेपत्ता, स्थानीय त्रसित

0Shares

मकवानपुरको हेटौँडामा एउटा गम्भीर र अनौठो घटना भएको छ । शुक्रबार (हिजो) साँझ सडक छेउमा रोकिराखिएको एक बोलेरो गाडी (भ्यान) अचानक जमिनमुनि भासिएर बेपत्ता भएको छ । स्थानीय बासिन्दाहरूले घटनालाई अविश्वसनीय भन्दै चकित परेपछि सुरक्षा जोखिमबारे गम्भीर प्रश्नहरू उठेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार हेटौँडा उपमहानगरपालिका १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक किनारमा पार्क गरिएको बोलेरो गाडी केही सेकेन्डमै जमिनसहित तानिएझैँ भासिएको हो। “हामीले हेर्दा हेर्दै गाडी तल तानिएजस्तो भयो, के भइहाल्यो भनेर केही बुझ्नै सकेनौँ,” एक स्थानीयले भने ।

घटनास्थलमा तत्कालै सुरक्षाकर्मीहरू पुगेका थिए भने प्राविधिक टोलीले भासिएको स्थानको अध्ययन शुरु गरिसकेको छ । प्रारम्भिक अनुमान अनुसार, जमिनमुनि पानीको बहाव वा नजिकै रहेको बोरिङले पानीको सतहसँगै बालुवा पनि तानेका कारण सतह कमजोर भई धसिएको हुन सक्ने प्रहरीले जनाएको छ । बेपत्ता गाडी हाल सम्म पनि भेटिएको छैन ।

उक्त घटनाबाट कुनै मानवीय क्षति नभएको र गाडी भासिनुअघि चालक र सहचालक निस्किएर जोगिएका थिए । तर उक्त घटनाले आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित बनाएको छ । उनीहरूले जमिनको अवस्थाबारे तत्काल निरीक्षण र आवश्यक पूर्व तयारी गर्न माग गरेका छन् । साभार : एभिन्युज

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *