पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु।४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गर्नुभएको हो ।
कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरता तर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उहाँले आम कृषकहरूलाई अनुरोध समेत गर्नुभयो ।
कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । वडा स्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकहरूले खुसी व्यक्त गरेका छन् । महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन्, भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालन गरिएको छ
