सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’

0Shares

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको छ ।

मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६० स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारबाट स्वीकृतप्राप्त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी हुने बताए । उनले भने, ‘विश्व ग्लोबल भिलेजका रूपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीले आफूले चाहेको विषय, संसारका जुनसुकै कुनामा रहेका कलेज, विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो ।’

इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजको उपस्थितिमा हुने शैक्षिक मेलाले विदेशमा पढ्न इच्छुक विद्यार्थीका लागि एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने बताए । उनले भने, ‘मेलामा आएपछि आफ्नो रोजाइ र क्षमता अनुसारका विश्वविद्यालय वा कलेजमा छान्न पाउने अवसर विद्यार्थीलाई मिल्ने छ ।’

इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० कन्सल्टेन्सी नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती कन्सल्टेन्सीबाट विश्वसनीय सेवा लिन सकिने बताए । इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ अध्ययन पश्चात नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो,’ उनले भने, ‘यद्यपि इक्यानले नेपाल फर्काउने अभियान चलाउन अर्को शैक्षिक मेला छिट्टै आयोजना गर्दैछ ।’  

शैक्षिक मेलाको प्रस्तुतकर्ता टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले उचित परामर्शका लागि इक्यान मेलामै सहभागी हुन आग्रह गरे । मेलालाई ब्रिटिस काउन्सिल नेपालको साथ रहनेछ । मेलाको पावर्ड बाइमा बेलायत स्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । मेलाको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । पर्यटकीय राजधानी पोखरामा हुन लागेको बृहत् शैक्षिक मेलामाबाट यस क्षेत्रका विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिन सक्ने इक्यान कास्कीले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *