‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबल माघ ९ देखी,१४ टोलीले प्रतिस्पर्धा गर्ने

0Shares

पर्यटकीय सहर पोखरामा आगामी माघ ९ देखी १७ गतेसम्म ‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गरी छैटौँ संस्करणको सो प्रतियोगिता बारेमा जानकारी दिएको हो ।

प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी कुल १४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार महिलातर्फ दुई थाइल्याण्डका टिम तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय एवं भारत गुजरातको टिमसहित कुल चार विदेशी टिमहरुको सहभागिता हुनेछ । महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड, थाइल्याण्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब रुपन्देहीको सहभागिता हुने भएको हो । यसैगरी पुरुषतर्फ माल्दिभ्स भलिबल एशोसियसन, भारतको गुजरात राज्यको गुजरात भलिबल क्लब सहित गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ तथा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लबको सहभागिता हुने भएको छ ।

छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने अध्यक्ष शर्माले बताउनुभयो । यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पाचौं संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु एक करोड ८० लाख खर्च हुने जनाउँदै अध्यक्ष शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सदा झैं सहयोगका लागि आह्वान गर्नुभयो । प्रतियोगिताबाट बचत भएको रकम शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासका लागि गरिने बताइन्छ । प्रतियोगितालाई भव्य एवं सभ्यरुपमा सम्पन्न गर्न एक सय सात सदस्सीय मुल आयोजकसहित १४ विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकेर तयारीलाई तीव्र बनाइएको आयोजक संस्थाका सचिव डिवी नेपालीले जानकारी दिनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *