गोपी र सूर्यलाई दशैं कप पोखरा ओपन भेट्रान्स टेनिस उपाधि

0Shares

गोपीबहादुर भट्टराई र सूर्य भुजेलको जोडीले पोखरामा सम्पन्न दशैं कप पोखरा ओपन भेट्रान्स टेनिस टुर्नामेन्टको उपाधि जितेको छ । पोखरा रङ्गशालाको टेनिस कोर्टमा शुक्रबार भएको फाइनल खेलमा मनु त्रिपाठी र अमृत कार्कीको जोडीलाई ७–५, ६–४ को सोझो सेटमा पराजित गर्दै गोपी, सूर्यको जोडीले सो उपाधि जितेको हो । यसअघि सो जोडीले सेमिफाइनलमा लक्ष्मण तामाङ र इन्द्र गुरुङको जोडीलाई तथा मनु, अमृत जोडीले अनु जोन र विष्णु बानियाँको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । प्रतियोगितामा भिष्मराज पौडेल र विकास गुरुङले उत्कृष्ट जोडीको उपाधि पाए ।

विजयी खेलाडीहरूलाई अग्रज टेनिस प्रशिक्षक अनु जोन, नेपाली सेनाका पूर्व कर्णेल सन्दीप नेगी, अग्रज टेनिस खेलाडी समीर शेरचन, डक्टर मदन थापा, गण्डकी प्रदेश टेनिस संघका कार्यवाहक अध्यक्ष लोक गुरुङ लगायतले अबिरार्पण सहित ट्रफी प्रदान गरेका थिए ।

समापन समारोहमा अवसरमा बोल्दै प्रतियोगिता संयोजक धर्मबहादुर लामिछानेले टेनिस खेलाडीहरूबिच भाइचारा सम्बन्ध प्रगाढ पार्दै विजया दशमीको शुभकामना साटासाट गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगितामा १४ टिमले सहभागिता जनाएर प्रतियोगिता सफल पार्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

विजयी खेलाडीको तर्फबाट बोल्दै पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षहरू समेत रहेका खेलाडीहरू गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलले यो प्रतियोगिताले पोखरा अब चलायमान बन्नेछ भन्ने सन्देश समेत दिएको जनाए । यतिबेलाको मौसम निकै राम्रो भएकाले पर्यटकहरुका लागि पोखरा घुम्ने उत्कृष्ट समय भएको बताए । आयोजक संघका महासचिव भिष्मराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *