नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए

0Shares

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले जानकारी दिनु भएको हो ।

पक्षी गणनाका गर्दा गत वर्ष देखिएका आठ प्रजातिका चराहरु यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएका ६ प्रजातिका चराहरु यस वर्ष देखिएको जनाइएको छ । गत वर्ष देखिएका सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यस वर्ष देखिएनन् भने गत वर्ष नदेखिएका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग फेला परेका छन् ।

यस वर्ष पहिलोपटक बैकाल गैरी भेटिएको छ । प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय संघ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको यो चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो । नेपालमा बैकल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलोपटक देखिएको बताइएको छ । यो चरा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएको हो ।

मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हुँदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र संख्या घटेको प्रारम्भिक तथ्याङ्क आएको र प्रत्येक वर्ष नेपालमा क्रमिकरूपमा चराको संख्या घटिरहेको बताइएको छ । नारायणी नदीमा आहारा घट्नु र प्रदूषण बढ्दै गएकाले यहाँ आश्रित चराको संख्या घट्दै गइरहेको बताइएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *