नेपाल समाजवादी पार्टी (नेसपा)को विधान अधिवेशन पोखरामा शुरु भएको छ । पोखरामा शुरु भएको नेसपाको प्रथम महाधिवेशनको पूर्व प्रधानमन्त्री तथा नेसपा महाधिवेशन मूल आयोजक समितिको संयोजक डा.बाबुराम भट्टराईले उद्घाटन गरे । विधान अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले भ्रष्टाचार अन्त्यका लागि संस्था बलियो हुनुपर्ने बताएका छन् । संस्था बलियो नहुँदा देशमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्दै गएको उनले बताए । भ्रष्टाचारबारे छानविन गर्ने एउटा बलियो संस्था आवश्यक रहेको उनको भनाई थियो । त्यसले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सक्ने उनले बताए । अहिलेको अवस्थामा कोहि व्यक्ति कुनै पदमा पुग्दैमा भ्रष्टाचार रोक्न नसक्ने उनले दाबी गरे ।
डा.भट्टराईले आफू भने कुनैपनि काण्डमा नपरेको दाबी गरे । आफू भ्रष्टाचार वा कुनैपनि काण्डमापनि नमुछिएको तथा राम्रो गर्न खोज्दा झन् किनारामा पर्दै गएको गुनासो गरे । उच्च ओहोदामा बसेका राजनीतिक नेताहरुको छानविन हुनुपर्ने भन्दै उनले भने,‘त्यो छानविन मबाटै शुरु होस् । राजनीतिक नेतृत्वमा भएका कारण कसैलेपनि छुट पाउनु हुँदैन ।’
डा.भट्टराईले देश यस्तै अवस्थामा रहिरहे संकटमा फस्ने चेतावनी दिए । देशमा वैदेशिक हस्तक्षेप र चलखेल भइरहेको भन्दै उनले भने,‘तिनै विदेशीले अहिले लोभीपापी नेताहरुलाई कहिले कुन शक्ति त कहिले कुन शक्तिले प्रयोग गरिरहेका छन् । उनीहरुले कहिले जातिय, कहिले क्षेत्रीय त कहिले के नाममा समाज विभक्त गर्नेछन् र तिनै नेताहरुलाई प्रयोग गरेर देशलाई संकटमा फसाउँछन् ।’
पूर्व प्रधानमन्त्री डा.भट्टराईले आफू सोझो हुँदा दुःख पाएकोसमेत बताए । माओवादी होस् वा मधेशवादी पार्टीसँग एकता गरेर जाँदा होस् आफू दोश्रो भएर अरुलाई सघाईरहँदा उनीहरुबाट सँधै धोका पाएको उनले बताए । मधेशवादी साथीहरु, आदिवासी, जनजाति साथीहरुलाईपनि अगाडि बढाएर आफू दोश्रोमै बस्ने प्रयास गरेँ,उनले भने,‘तर मलाई सँधै धोका भयो । यसले गर्दा आम पार्टी पंक्तिमा बाबुरामले पार्टी बनाउन सक्दैन कि भन्ने भ्रम हुन पुग्यो । तर त्यस्तो अवस्था होईन ।’ उनले सिद्धान्त, बिचार र नेतृत्व राम्रो भएकाले पार्टी ठूलो बन्ने भन्दै त्यसका लागि संकल्प गरिएको बताए ।
मंगलबारसम्म चल्ने विधान अधिवेशनले नया विधान पारित गर्ने बताइएको छ । नया विधानमा यसअघि रहेको संघीय परिषद खारेज गर्ने डा.भट्टराईले जानकारी दिए । वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र बैचारिक आधार, बैकल्पिक शक्तिको मूल बैचारिक–राजनीतिक प्रतिबद्धता, बैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीतिहरु, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ बैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका बिषयमा अधिवेशनमा छलफल हुने उनले बताए । विधान अधिवेशनमा देशका सतहत्तरै जिल्लाका चार सय प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।
