पोखरामा दाईं महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा यहि माघ ६ गते आईतबार पोखरामा प्रथम दाईं महोत्सव हुन लागेको हो । दाईं महोत्सव पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा हुने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । दाईं महोत्सव हुने स्थल रोपाईं महोत्सव भएकै स्थान भएको उनले बताए । गत असार १५ मा सोहि स्थानमा पोखरा पर्यटन परिषदकै आयोजनामा रोपाईं महोत्सव भएको थियो ।
सो दिन विहान ८ बजेदेखि हुने दाईं महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिं गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । उनका अनुसार दाईं महोत्सवमा धान चुट्ने, धानको राश बनाउने र बत्ताउने कार्य हुनेछ भने १० वटा गोरु र ३० जना दाईं हाल्ने मान्छे सहभागि हुनेछन् । परम्परागत दाईंको झल्को दिन खाजा र खानापनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने अध्यक्ष पहारीले बताए ।
दाईं महोत्सवमा स्वदेशी पर्यटकसँगै विेदशी पर्यटकपनि सहभागी गराईने उनले जानकारी दिए । उनका अनुसार दाईं महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीपनि सहभागि गराईनेछ । मौलिक तथा परम्परागत दाईंको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषदले जनाएको छ । लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाईं गर्ने परम्परा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य हो,उनले भने,‘यसले लोपोन्मुख जेठो बुढो धानको संरक्षणमापनि योगदान दिन्छ भन्ने विश्वास छ ।’ दाईं महोत्सव हुने स्थान मार्गी फाँट वरपर लगाएको धानमा यस वर्ष गबारो किरा लागेर आधा भन्दा बढी धान नष्ट भएको थियो । सोबारेपनि राज्यको ध्यानाकर्षण गराउन दाईं महोत्सवले भूमिका खेल्ने उनको भनाई छ ।
