म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।
बर्खेनाचअन्तर्गत सोमबारदेखि बेनीमा लाखेनाच देखाउन सुरु भएको छ । नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ । मंकाखलअन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने भएको छ ।
परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बालानाच देखाउन लागिएको हो । नाचका विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् ।
