अन्नपूर्ण पदमार्गमा नेपाली सेनाको सरसफाई अभियान सम्पन्न, २९० किलो फोहोर संकलन

0Shares

पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण तथा पदयात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री कृष्णदल गणले अन्नपूर्ण पदमार्ग क्षेत्रको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। सेनाको पश्चिम पृतना अन्तर्गत श्री नं. ३ वाहिनी अड्डाको निर्देशनमा सञ्चालन गरिएको अभियान बैशाख २१ गतेदेखि २५ गतेसम्म पाँच दिनसम्म सञ्चालन गरिएको हो।  

पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण अन्नपूर्ण पदमार्ग क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउनु यस अभियानको मुख्य उद्देश्य रहेको अभियानको नेतृत्व श्री कृष्णदल गणका गणपति, प्रमुख सेनानी राजेन्द्र पुडासैनीले बताए ।

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका क्षेत्रका झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, गुर्जुङ, सिनुवा र बम्बु जस्ता मुख्य गन्तव्यहरूमा सरसफाई कार्य सञ्चालन गरिएको थियो। अभियानमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP) का प्रतिनिधिहरू, स्थानीय होटल व्यवसायी, आमा समूह तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पाँच दिनसम्म चलेको अभियानको अन्तिम दिन करिब २९० के.जि. फोहोर संकलन गरिएको थियो । स्थानीयले यस्ता गतिविधिहरूले पर्यावरण संरक्षणमा मात्र होइन, दीर्घकालीन रूपमा दिगो पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे, र आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै नेपाली सेनालाई आवश्यक सहयोग गर्न तत्पर रहने प्रतिबद्धता समेत जनाएका थिए । अभियानले सेनाको सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहभागितामूलक प्रयासलाई बल पुर्‍याएको छ भने, पर्यावरणीय चेतना अभिवृद्धि गर्न समेत सहयोग पुगेको स्पष्ट देखिएको कुरा स्थानियले बताए। 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *