अविरल वर्षापछी आएको बाढीले पहिरो जाँदा पोखरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । अविरल बर्षापछि आएको पहिरोले पोखराको ३ ठाउँमा घर पुरिँदा ११जनाको ज्यान गएको हो । घटनामा १बेपत्ता छन् भने २ घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा–१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ६ जना सहित ७ जनाको मृत्यू भएको छ । टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवारका ६ जनासहित ७ जनाको ज्यान गएको हो । पहिरोले घरमूली ४६ वर्षिय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार । आमा ८५ वर्षीया लक्षीमा परियारको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय कास्कीलाई जनाएको छ । त्यस्तै पहिरोले परियारकी छोरी १५ वर्षीया प्रश्ना परियार, चितवन घर भई माइती आएकी अर्की छोरी २० वर्षीया प्रभा परियार, ज्वाँई २५ वर्षिय अस्मित परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जनाइएको छ । राधिकालाई उद्धार गर्दा लडेर घाइते भई घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
पहिरोले मृतक राधिका परियारका छोरा ३१ वर्षिय कुमार परियार तथा अर्का मृतक कुलबहादुर परियारका १९ वर्षिय पवन परियार घाइते भएका छन्। कुमारको हात भाँचिएको र पवनको ढाडमा चोट लागेको उनले बताए । दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ । त्यस्तै पोखरा–३२ चैनपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि गएराती आएको पहिरोले आरती ओझाको घर पुरिँदा उनकी १८ वर्षीया छोरी अनिता ओझा, अर्की ११ वर्षीया छोरी अनुष्का ओझा र आरतिकी दाईकी छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको हो ।
पहिरोले पुरिएर घरमूली आरती ओझा पनि घाइते भएकी कास्की प्रहरीले जनाएको छ । उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा घर पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको पनि मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उक्त पहिरोमा पुरिएका ओमबहादुर गुरुङलाई भने सकुसल उद्धार गरिएको छ ।
