कक्षा १२ को परीक्षा आजदेखि

0Shares

राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ शुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ ।   परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने जनाइएको छ ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको छ ।
 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *