निरन्तरको वर्षा र त्यसपछि छिनछिनमा हुने मौसम परिवर्तनका कारण देशभर भाइरलका बिरामी बढेका छन् । दिनभर स्वस्थ रहेको व्यक्तिलाई साँझ परेपछि टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका समस्या देखिन थालेको छ । मौसमको असन्तुलनका कारण यस्ता समस्या देखिनु स्वभाविक भएपनि हेलचेक्र्याइँ भने गर्न नहुने चिकित्सकहरुको भनाइ छ ।
दिनभर स्वास्थ्य अवस्था ठिकठाक रहेको मान्छेमा साँझ परेपछि हनहनी ज्वरो आउने, रुघा खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने लगायतका समस्या देखिने गरेको छ । विरामी परेको ३ दिनदेखि एक हप्तासम्म ओछ्यानबाट उठ्नै नसक्ने अवस्था रहने गरेको छ ।
अझ डेंगी संक्रमणमा परिसकेकाहरुले थप कमजोरी महसुस गर्ने गरेका छन् । स्कुले बच्चा यस्तो समस्या बढी पीडित देखिएका छन् । बिरामी परेर अस्पतालमा भर्ना भएकामध्ये अधिकांश व्यक्ति भाइरलका बिरामी रहेको पाइएको छ । देशका पहाडी जिल्लामा केही कम देखिएपनि तराइका जिल्लामा भने भाइरल बिरामीको प्रकोप अझ बढेको देखिन्छ । बालाबालिकामा यस्तो खालको प्रकोप देखिएपछि तराइका केही स्थानमा स्कुल बन्द गरीएको छ ।
