नवौं संस्करणको पिएम कप महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालाको कभर्डहलमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ टिमले भाग लिने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, र मणिमुकुन्द क्लब बुटवल सहभागी हुनेछन् । यस्तै, महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशबीच प्रतिश्पर्धा हुनेछ ।
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ९० लाख रुपैया लाग्ने आयोजकको अनुमान छ । यो प्रतियोगिता राजधानी बाहिर पहिलो पटक हुन लागेको हो ।
