नागढुङ्गा आमा समूह,पोखराको २१ औं साधारण सभा तथा विजयादशमी, शुभ–दिपावली छठ पर्व एवं नेपाल सम्वतका अवसरमा शुभ–कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार आयोजित समारोहका अवसरमा समूहले विभिन्न क्रियाकलापमा उत्कृष्ट आफ्ना सदस्यहरूको सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट ऋणी लक्ष्मी गिरी, क्रियाशील सदस्य करमाया मल्ल रहेका छन् । त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ९ महिला सञ्जालद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल पुष्पा गिरी, कमला काप्री र भगवती पन्तलाई पनि सम्मान गरियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी बलबहादुर सुनारले समाजले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । यसअघि समुहको सहयोगार्थ १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका सुनारले समुहको भौतिक विकास कार्यमा सहयोग गर्ने बताए । समूहका सल्लाहकार दुर्गाराज गिरीले समूहका गतिविधि अगाडि बढाउन आगामी दिनमा पनि उचित सल्लाह एवं समन्वय गर्ने बताए । समूहका संस्थापक अध्यक्ष पवित्रा गिरीले समूहले विभिन्न कालखण्डमा विभिन्न उतार चढाव पार गर्दै आफ्ना गतिविधिहरु अघि बढाइरहेको बताइन् । निवर्तमान अध्यक्ष लक्ष्मी गिरीले समूहका सदस्यहरूको एकता र क्रियाशीलतामा जोड दिँदै आगामी दिनहरुमा समूहले थप उत्कृष्ट गतिविधि गर्ने विश्वास व्यक्त गरिन् ।

समुहका उपाध्यक्ष कमला श्रेष्ठले समुहले टोलमा देखिएका विकृती विसंगति विरुद्ध आवाज उठाउँदै आएको उल्लेख गरिन् । उनले चाडको मुखैमा सडक बत्ति नबल्दा टोलनै अन्धकार बनेको बताउँदै खानेपानी, बत्ति, सरसफाई जस्ता कार्यहरुमा सरोकारवाला निकायले सहयोग गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा समूहका सचिव सिमा लामिछानेले कार्य प्रतिवेदन तथा कोषाध्यक्ष पुष्पा गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समूहका अध्यक्ष कमला केसीले भइरहेका गतिविधिमाथि प्रकास पार्दै आगामी कार्ययोजनाबारे जानकारी दिएकी थिइन् ।