पोखराका तीन अस्पतालमा उपचारका क्रममा तीन जनाको डेंगीबाट मृत्यु भएको छ । गण्डकी मेडिकल कलेज, फिष्टेल अस्पताल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एक एक जनाको डेंगीबाट मृत्यु भएको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश केसीले जानकारी दिए । तनहुँमा डेंगी लागेपछि उपचारका लागि पोखरा ल्याएका दुई जना र कास्की एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु लाग्ने गर्दछ । अघिल्लो वर्ष पनि तनहुँमा डेंगु संक्रमण सबै भन्दा बढि भएको थियो । गण्डकी प्रदेशमा करिब १२ हजार संक्रमित मध्ये ७ हजार तनहुँका मात्रै थिए । यो वर्ष पनि तनहुँमा डेंगुका विरामी प्रदेशकै धेरै रहेको केसीले बताए । उनले डेंगी संक्रमण भएपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्न बताए । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने हुन सक्ने उनले बताए । प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए ।
डेंगी फैलाउने लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ । खासगरि वर्षाको पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका फिजिसियन डा. शरद चन्द्र बरालले बताए ।
