पोखरामा प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

0Shares

पोखरामा माघ १८ गतेदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा हुने अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । माघ १८ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाउँदैछन् । जसमा आयोजक प्रतिभा माविसहित कुमुदिनी होम्स मावि गैह्रापाटन, ग्लोबल कलेजियट स्कुल रानीपौवा, गुरुकुल विद्यासदन नयाबजार, छोरेपाटन मावि छोरेपाटन, जनप्रिय मावि सिमलचौर, टप्स मावि रामघाट, डायमण्ड मावि तालचोक, नेपाल भारत मैत्री विद्यालय, वाराही मावि मालेपाटन, बालमन्दिर मावि नदीपुर र मदरल्याण्ड मावि मासवार प्रतिष्पर्धामा उत्रिने उनले जानकारी दिए ।

प्रतियोगिताको ट्रफी विहीबार नै पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । सो अवसरमा प्रतिष्पर्धी विद्यालयहरुको समूह विभाजन पनि लक्की ड्रबाट विभाजन गरिएको थियो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मावि र टप्स मावि, समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्यासदन र मदरल्याण्ड मावि, समूह ‘सी’ मा आयोजक प्रतिभा माविसहित नेपाल भारत मैत्री विद्यालय र वाराही मावि मालेपाटन तथा समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड मावि र बालमन्दिर मावि रहेका छन् ।

समूह चरणमा तीनवटै टिमले आपसमा प्रतिष्पर्धा गर्ने र लिगको बिजेताले सेमीफाइनलमा स्थान पक्का गर्ने पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन पुनले जानकारी दिए । सेमीफाइनलमा समूह ‘ए’ र समूह ‘बी’ तथा समूह ‘सी’ र समूह ‘डी’को बिजेताले फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने उनले बताए ।

प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतियोगिता क्रिकेटको विकास र खेलाडीको प्रतिभा उजागर गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘विद्यार्थीको प्रतिभा उजागर गर्न, क्रिकेटप्रेमी विद्यार्थीलाई एक्सपोजर दिन र क्रिकेटको विकासमा यो प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं ।’

प्रतिभा माविका प्रचार्य किरण सापकोटाले आगामी दिनमा छात्रा क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने प्रतिबद्दता जनाए । यो पहिलो प्रयास हो र यसलाई शुरुवातको रुपमा मात्र बुझिदिन म आग्रह गर्दछु,उनले अगाडि थपे,‘आगामी दिनमा हामी छात्रसँगै छात्रा क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने प्रतिबद्दता जनाउँछौं ।’ प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने विद्यार्थी खेलाडीले कास्की जिल्ला स्तरिय यू–१९ क्रिकेट टिममा स्थान बनाउन अवसर प्राप्त गर्नेसमेत उनले बताए ।

गण्डकी क्रिकेट संघका सदस्य रविन्सन प्रजूले नीजि क्षेत्रबाट क्रिकेटको विकासका लागि भएको प्रयास सराहनी भएको बताए ।

प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *