पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार विभिन्न विद्यालयहरुविच प्रतिस्पर्धा जारी रहेको छ । बिहीबारको खेलमा जनप्रिय माविले कालिका मावि माथि पाँच विकेटको जित निकालेको छ । टस हारेर ब्याटिङ गरेको कालिकाले १२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४४ रन बनाएको थियो ।
कालिकाका सुमिन घर्ती मगरले १४ तथा सुसन क्षेत्रीले १० रन जोडे । जनप्रियका बलरहरू राजेश साउथले ६ तथा कृष्ण ढकालले ३ विकेट लिए । प्रतिउत्तरमा जनप्रियले ४५ रनको लक्ष्य ७ ओभरमा ५ विकेट गुमाएर प्राप्त गर्यो । जनप्रियका मौसम भट्टराईले १७ तथा समीर भट्टराईले १० रन जोडे । कालिकाका बलर अनिश पोखरेलले ४ विकेट लिएका थिए । ६ विकेट लिएका जनप्रियका राजेश साउथ प्लेयर अफ द म्याच भए ।

अर्को खेलमा अमरसिंह माविले सिद्ध माविमाथि ५८ रनको जित निकाल्यो । टस जितेको सिद्धले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गर्दै अमरसिंहले १९ ओभर खेलेर १ सय २० रनमा सम्पूर्ण विकेट गुमाएको थियो । अमरसिंहका दीप्सन सापकोटाले ३३ तथा कृतज्ञ अधिकारीले २८ रन जोडे । सिद्धका कवीर गुरुङले ३ तथा विवेक गुरुङल २ विकेट लिए । प्रतिउत्तरमा ब्याटिङमा आएको सिद्ध ६१ रनमै समेटियो । सिद्धका हर्क गुरुङले १२ रन जोडे । अमरसिंहका बलर आतिफ मिया र सुष्मन्त गौतमले ३÷३ विकेट लिए । खेलमा अतिफ मिया प्लेयर अफ द म्याच भए ।
छात्रातर्फको खेलमा बाराहीले श्रीकृष्ण माविलाई ५४ रनले पराजित गर्यो । खेलमा पहिला ब्याटिङ गरेको बाराहीले १२ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाउँदा हिरा भुजेलले २० बलमा २२ रनको योगदान दिइन् । जितका लागि १ सय ३ रनको लक्ष्य पछाएको श्रीकृष्णको पारी ४८ रनमा समेटिएको थियो । उसले पुरा १२ ओभर खेलेर ९ विकेटको क्षतिमा ४८ रन मात्रै जोड्न सकेको हो । श्रीकृष्णको तर्फबाट मन्जिलाले १२ रन जोडिन् । बाराहीका सोनीमाले ३ र हिराले एक विकेट लिए । सोनीमा प्लेयर अफ द म्याच बनिन्
