पोखरेली उदीयमान क्रिकेट खेलाडी सोहिल कुँवर व्यवसायिक क्रिकेट खेल्न बेलायततर्फ लागेका छन् । बुधबार साँझ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट उनको परिवारले उनलाई बिदाई गरेको छ । उनले यो सिजन बेलायतस्थित फर्निङगम क्रिकेट क्लबबाट क्रिकेट खेल्ने उनका बुवा बविन कुँवरले जानकारी दिए । उनका अनुसार सोहिलले फर्निङगमबाट ए डिभिजन क्रिकेट खेल्नेछन् ।
पोखरा १० उत्तमचोकका कुँवरले नेपाली राष्ट्रिय टोलीबाट १९ वर्ष मुनिको क्रिकेट खेलिसकेका छन् । हङकङ विरुद्धको सिरिजमा ओपनर ब्याट्सम्यानका रुपमा टिममा परेका उनी त्यो सिरिजमा उत्कृष्ट ब्याट्सम्यान भए । भाई साथी माझ मिजासिलो स्वभावका उनले यु– १६ क्रिकेटमा गण्डकी प्रदेशको कप्तानी समेत सम्हालिसकेका छन् ।

२०१७ सालमा पोखरा आएका कुँवर छोंटो समयमै कास्की क्रिकेटको बलियो खम्बाका रुपमा उदाएका थिए । बुवा बबिन कुँवरसँगै अस्ट्रेलिया रहँदा उनले १० वर्ष मुनि र १२ वर्ष मुनि का विभिन्न प्रतियोगिताहरु खेलिसकेका थिए । सिड्नी बसाइका क्रममा उनले झण्डै १ दशक क्रिकेटको अनुभव बटुलिसकेका छन् ।

उनलाई यो चाँजोपाँजो क्रिकेट पोखरेली प्रशिक्षक जिम्मी गुरुङले मिलाएका हुन् । बेलायत जान लागेका कुँवरले दृश्यम मिडियासँगको कुराकानीमा त्यहाँबाट क्रिकेटका थप सिप सिक्ने आशा व्यक्त गरे । ‘व्यवसायिक रूपमा पनि केही आर्जन हुनेछ र क्रिकेटमा थप निखारिने अवसर प्राप्त हुने छ भन्ने अपेक्षा राखेको छु’– उनले भने । बेलायत रहँदा सिकेका सिप, ज्ञान नेपालकै क्रिकेटका लागि प्रयोग गर्ने कुँवरको भनाई छ । बेलायतबाट फर्किएपछि नेपालकै क्रिकेटका लागि आफ्नो योग्यता, दक्षता लगाउने र अवसर पाएसम्म नेपाल टिमबाटै क्रिकेट खेल्ने उनको लक्ष्य रहेको छ ।
