‘महिला उद्दमशीलता आजको आवश्यकता’ भन्ने नाराका साथ वडा स्तरीय महिला सञ्जाल वडा नं ९ को आयोजनामा आलु चिप्स, फ्रोजन मःम, खुर्मा, निम्किन, सेलरोटी तथा मस्यौरा बनाउने एक हप्ते तालिम आइतबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का सदस्य गीता चर्मकारले एक समारोहका बिच तालिमको उद्घघाटन गर्नुभयो । त्यसैगरि दुई हप्ते क्रिष्टलको माला बनाउने तालिमा जारी छ ।
वडा नम्बर ९ को सहयोगमा आयोजित तालिममा वडास्थित विभिन्न टोल, संघसंस्था, समूह लगायतबाट ३० जना भन्दा बढीको सहभागिता रहेको आयोजक सञ्जालका अध्यक्ष कमला केसीले जानकारी दिनुभयो । तालिममा सिकेका ज्ञान व्यवहारमा लगाउँदै महिलाहरु स्वरोजगार बन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाका निवर्तमान सदस्य राममाया मानन्धर, टोल समन्वय समितिका अध्यक्ष उत्तम जोशी, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा वडा सदस्य भावना श्रेष्ठले बताउनुभयो । सञ्जालका उपाध्यक्ष सरिता बाँस्तोलाले स्वागत गर्नुभएको कार्यक्रम सचिव प्रभा सुवेदीले सञ्चालन गर्नुभएको थियो ।