पोखराको लेकसाइड स्थित केयरमार्क हस्पिटलले स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार हस्पिटल प्राङ्गणमा सम्पन्न कार्यक्रममा… जनाले रक्तदान गरे । नेपाल नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता सृष्टि शाही ठकुरीलाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा भट्टराईले विदेशी पर्यटकहरूलाई लक्षित गर्दै लेकसाइडमा सञ्चालित हस्पिटल समग्र लेकसाइडबासी तथा पर्यटन व्यवसायीकै गर्वको कुरा भएको जनाए । हस्पिटलले उत्कृष्ट सेवा प्रदान गर्दै नमुना हस्पिटल बन्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरे । हस्पिटलका अध्यक्ष समेत रहेका कार्यक्रमका सभापति जितु गुरुङले हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । आगामी दिनहरूमा पनि समाजसँग जोडिने विभिन्न गतिविधि सञ्चालन गरिने जनाउँदै रक्तदानको महत्वबारे समेत प्रकाश पारे ।
कार्यक्रममा पोखराका पर्यटन सम्बद्ध विभिन्न संस्थाहरू टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष अनिल केसी, नेपाली कांग्रेस पोखरा महानगरका सभापति सुरेन्द्रमान बिजुक्छे लगायतलाई हस्पिटलको तर्फबाट सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो । डक्टर पूजा गुरुङले सञ्चालन गरेको कार्यक्रममा डक्टर शंकर पोखरेलले स्वागत मन्तव्य राख्दै अस्पतालका सेवाबारे प्रकाश पारेका थिए । सङ्कलित रगत नेपाल रेडकस सोसाइटी, प्रादेशिक रक्तसञ्चार सेवाका इन्चार्ज अर्जुन ज्ञवालीलाई हस्तान्तरण गरिएको छ ।