शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७ सूर्यौचरका वडाध्यक्ष वीरबहादुर तामाङले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए । स्थानीयबासीले उक्त डाँडामा धुँवा देखेपछि खबर गरेको नेपाल प्रहरीले बताएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकालेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ ।काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको उक्त हेलिकप्टर अरुण मल्लले उडाएका थिए । दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् ।