कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासका लागि भन्दै विभिन्न क्लबहरुलाई बल हस्तान्तरण गरेको छ । पोखरामा एकेडेमी सञ्चालन गर्दै आएका चार क्लबहरुलाई संघले बल प्रदान गरेको हो । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु भदौरे, एपेक्स, सहारा र संगम क्लबलाई ५–५ थान फुटबल हस्तान्तरण गरियो । त्यस्तै, संघले सञ्चालन गरेको एन्फा एकेडेमीलाई २५ थान हस्तान्तरण गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले क्लबहरुलाई बल हस्तान्तरण गरे । सो अवसरमा सदस्य सचिव शर्माले प्रदेशको फुटबलको स्तर विगतमा भन्दा खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै फुटबल विकासको लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याए । उनले उमेर समुहहरुका खेलाडीहरु र नागरिकहरुलाई समेत खेल मैदान सम्म ल्याउने वातावरण बनाउन सबैको दायित्व रहेको बताए ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले फुटबल विकासको लागि पहिलो प्राथमिकता रहेको बताउँदै क्लब र एकेडेमीलाई बल हस्तान्तरणपछि फुटबलमा नयाँ आयाम आउने विश्वास लिएको बताए । पोखरा–११ भेट्रान टोली तमुधि युकेको निमन्त्रणमा गएको बेला त्यहाँका सहयोगी मनहरुले बलको लागि आर्थिक सहयोग गरेको बताउँदै एन्फा कास्कीका सदभावना राजदुत युके निवासी कमल गुरुङ, युकेमै बस्ने हुपबहादुर थापा, तमुधिं युके, बगरभाइखलक युके, सहारा क्लब युके लगायतले विशेष सहयोग गरेको प्रति अध्यक्ष रन्जितले आभार व्यक्त गरे । सो अवसरमा संघका महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले समेत आफ्ना भनाई राखेका थिए ।