गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख ७ गते विश्वासको मत लिने भएका छन् । विवादका बीच गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन् । सोहि प्रयोजनका लागि बैशाख ७ गते शुक्रबार गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको विशेष अधिवेशन डाकेका हुन् । प्रदेश प्रमुखको कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम मन्त्री परिषदको सिफारिसमा प्रदेश सभाको अधिवेशन आह्वान गरेको जनाएको छ ।
यसअघि गण्डकी प्रदेशको मंगलबार बसेको मन्त्री परिषद बैठकले बैशाख ७ गते विशेष अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अधिकारीले गत चैत २५ गते सभामुखसहित गणना गरेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । सभामुखलाईसमेत गणना गरेर दाबी पेस भएपनि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सभामुखलाईसमेत गणना गरिएकाले दाबी नपुग्ने भन्दै उनले नियुक्ती बदर गर्न माग गरेका छन् । पाण्डेको रिटउपर सर्वोच्च अदालतले गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । साथै सर्वोच्चले उक्त मुद्धालाई अग्राधिकार दिई बैशाख १० गतेका लागि अर्को पेशी तोकेको छ ।
विश्वासको मत लिने तयारी भएपनि बहुमत पुग्ने सम्भावना भने न्यून छ । किनकी मुख्यमन्त्रीका लागि दाबी पेस गर्दाको भन्दा गण्डकीमा फरक सिनारियो देखिएको छैन । ६० सदस्यीय गण्डकी प्रदेश सभामा अधिकारीलाई एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेसहित ३१ जनाको समर्थन छ । सरकार बनाउन र विश्वासको मत लिन सभामुखले निर्णायक मतबाहेक अन्य बेला मत हाल्न पाउँदैनन् । अधिकारीले राप्रपालाई फकाउने प्रयास गरेपनि कुरा मिलिसकेको छैन । राप्रपाले केन्द्रबाटै सत्ता गठबन्धनलाई नसघाउने निर्णय औपचारिक रुपमै गरिसकेको छ । त्यसैले विपक्षमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेकाले अधिकारीलाई बहुमत पु¥याउनु फलामको चिउरा चपाउनु सरह हुनेछ ।
